अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार– २०२३

मंगलबार बैशाख १२, २०८०

देउराली फाउण्डेसन काठमाण्डौं । 

चितवन – परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसन क्यालिफोर्निया, अमेरिकाले अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरेको छ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले  देउराली फाउन्डेसनको सहकार्यमा मंगलबार चितवनको माडी नगरपालिकामा एक समारोहको आयोजना गरी सञ्चार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका १० वटा संस्थाहरुलाई अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार–२०२३ वितरण गरिएको हो। जनही १ सय ५० अमेरिकी  डलर र सम्मान पत्रले सम्मान गरिएको थियो।

पुरस्कृत हुनेमा श्रमजीवी पत्रकार महासंघ, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), मधेसी पत्रकार समाज नेपाल, शिक्षा पत्रकार समूह, स्वास्थ पत्रकार मञ्च नेपाल, मुस्लिम जर्नालिस्ट क्लब, राष्ट्रिय अपांग पत्रकार संघ, राष्ट्रिय यातायात पत्रकार मञ्च रहेका छन्।

पुरस्कार वितरण कार्यक्रमको अध्यक्षता देउराली फाउन्डेसनका अध्यक्ष भीम घिमिरेले गरेका थिए भने प्रमुख अथिति माडी नगरपालिकाका उपमेयर खेम प्रसाद महतो थिए। कार्यक्रम पत्रकार राज सरगमले सञ्चालन गरेका थिए।

प्रमुख अथिति माडी नगरपालिकाका उपप्रमुख खेम प्रसाद महतोले एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले पहिले माडीमा वितरण गरेका अन्तर्राष्ट्रियस्तरको शिक्षा र स्वास्थ पुरस्कारलाई स्मरण गर्दै अहिलेको पत्रकारिता पुरस्कार पनि माडीमा नै वितरण गरिनुले माडीप्रति एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले देखाएको माया र सहयोगप्रति माडीवासीहरु निकै उत्साहित भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए।

कार्यक्रममा एनआरएनएले प्रकाशन गरेको कवि देवकी अभिलाषीको कविता कृति आदिवासी भोकको लोकार्पण गरिएको थियो।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिर्फोनिया, अमेरिकाले अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार र अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार पनि स्थापना गरेर प्रदान गर्दै आइरहेको छ ।

एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएसन क्यालिर्फोनिया, अमेरिकाले यस अघि अन्तराष्ट्रिय शिक्षा सेवा पुरस्कार– २०२२ माडीस्थित श्री राष्ट्रिय आधारभुत विद्यालय रतनी (धोवाहा) का प्रधानाध्यापक एवम् आदर्श शिक्षक विरेन्द्र महतोलाई प्रदान गरेको थियो । अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार –२०२२ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका आदर्श डा. शेर बहादुर पुनलाई प्रदान गरेको थियो ।

एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।

Comments