छन्द दिवस किन मनाइन्छ ?

देउराली फाउण्डेसन काठमाडौं ।

छन्द दिवस , साहित्य खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रमहरु गरी मनाइँदैछ । जव कवितामा मात्रा अथवा वर्णहरूको संख्या, विराम, गति, गेयहरु नियमसंगत रुपमा मिल्दछ, तव छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ ।

सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा बाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरुको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो ।

कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको बिषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल बैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनःर्स्थापना गर्ने प्रयत्न स्वरुप कवि वियोगीले अभियान सुरु गरेको दिन बैशाख ८ गते हरेक बर्ष छन्द दिवसका मनाउन थालिएको हो ।

नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले बैशाख ८ लाई छन्द दिवसका रुपमा मनाउन सहमति दिएको थियो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाउने गरिन्छ ।

Comments