आज राम नवमी, भगवान श्रीरामको पूजा आराधना गरी मनाइँदै

देउराली फाउण्डेसन काठमाडौं ।

हिन्दू धर्मावलम्बीहरूले आज राम नवमी पर्व मनाउँदैछन्। हिन्दू धार्मिक ग्रन्थ रामायणका अनुसार त्रेता युगमा आजकै दिन अर्थात् चैत्र शुक्ल नवमीका दिन अयोध्यामा जन्मिएका मर्यादा पुरुषोत्तम श्रीरामले दानवीय प्रवृत्तिका रावणको अन्त्य गरी लोक कल्याण गरेको सम्झनामा यो पर्व मनाइन्छ।

यो पर्व चैत्र नवरात्रको विचमा आउने भएकाले यो दिन भगवान् श्रीराम का साथै आद्य शक्ति नवदुर्गा भवानीको समेत पूजा गरिन्छ।

हिन्दू धर्मावलम्बीहरू आजको दिन बिहानै नुहाइधुवाइ गरी राम मन्दिरमा गई पूजा आराधना गर्ने गर्दछन्। रामनवमीका दिन जनकपुर स्थित रामजानकी मन्दिरमा भव्य मेला लाग्ने गर्दछ। मेलामा नेपाल तथा भारतका हजारौं श्रद्धालुको घुइँचो लाग्छ।

आज काठमाडौको बत्तिसपुतली स्थित राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। यहाँ उपत्यकाको विभिन्न स्थानबाट दर्शनार्थीहरु भगवान श्रीरामको पूजा आराधना गर्न आउने गर्दछन्।

Comments