ईद उल फितर

देउराली फाउण्डेसन काठमाण्डौं ।

ईद के हो 

ईदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( ईदउल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।)

ईद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो ईद ) भनेर चिनिन्छ जब ईद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर ईद ) भनेर चिनिन्छ।

किन वर्षमा दुई पटक ईद मनाइन्छ 

दुवै ईदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। ईद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। ईद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ।

इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘ईद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।

ईद उल फितर र चन्द्र मासको सम्बन्ध 

ए चन्द्रमा
तिमी कुन जातका हौ
तीजपनि तिम्रो
ईद पनि तिम्रो ?

चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘ईद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।

यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । ईदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ ।

कसरी मनाइन्छ इद उल फितर

इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ ।

प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । तर, कोरोना भाइरसको नियन्त्रणका निमित्त यो वर्षको इदमा सबैलाई आफ्नो घरमा बसेर नै नमाज पढ्न र शुभकामना आदान–प्रदान गर्न नेपाल मुस्लिम आयोगले अनुरोध गरेको छ ।

आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ ।

बालबालिकाका लागि ईद
बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् ।

ईदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ ।

नेपालमा ईद
नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।

यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई ईद उल फितरको शुभकामना ।

Comments