भेदभावको अन्त्य स्वयं आफैबाट सुरु गरौं ! संस्थापक माधब मरासिनी

 

देउराली फाउण्डेसन ।

आखिर के हो त भेदभाव ?
अज्ञानता वा अशिक्षाको कारण जातियता,वर्ण,भाषा,धर्म ,लैंगिकता  आदिकोआधारमा हुने बिभेदनै भेदभाव हो  । भेदभाव परापुर्व काल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो बिष हो जसले भगवानको यो सुन्दर संसारमा एकअर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था, कहिले रङ्ग र कहिलेकाही केहि नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। हाम्रो समाजमा प्राचीन प्रवन्ध र प्रथाहरूको नाममा हुने विभेद तथा आक्षेप, पक्ष र विपक्षमा खनिनुपर्ने अवस्था कहिलेसम्म रहिरहने होला ? यस्ता विषयको समाधानकालागि आवश्यक सचेतना, उत्कर्ष र मेलमिलापका कार्यहरू किन अघि नबढेको वा नबढाइने गरिएको होला ?  ‘बहुलजाति’ भनेर संविधानमा लेखिएपछि गर्व पनि गर्ने अनि छुवाछुत पनि कायमै राख्ने गर्न मिल्छ र ? यस्तो अवस्था कायम रहँदा हाम्रा असल परम्परा, विज्ञानसम्मत संस्कृति, प्रकृतिसम्मत धर्म, पुर्खाले रचना गरेका ज्ञान—विज्ञान र वाङ्मयप्रति लाञ्छना बढेको बढ्यै छ ।  समाजमा जातजाति रहेपछि राम्रो वा नराम्रो कर्ममा संलग्नता पनि जातजातिकै रहन्छ । व्यवस्था जोगाउनमा होस् वा व्यवस्था फेर्नेमा होस् जातजातिकै भूमिका हुन्छ । दुर्घटना भए पनि जातजातिकै मानिस मर्ने हो । मूल विषय जातिगत आधारमा विभेद, आक्रमण, हत्याजस्ता विषय घृणित हुन् ।समाजका अधिकांशतः मानिसहरूले जात—थर हेरेर, राजनीतिक संलग्नता हेरेर, पेसागत नाफा—नोक्सान हेरेर  विषयवस्तु हेर्ने र धारणाबनाउने गरेको पाइन्छ । यसो गर्दा सही निष्कर्षमा पुग्न साह्रै गाह्रो पर्दछ । कहिलेकाहीँ त साथीहरू ‘फलानाले यस्तो विषयमा किनलेख्थे’ भन्न भ्याउनुहुन्छ । कहलेकाहीँ फेरि ‘लेखेर मात्र हुन्छ र ?’ ‘बोलेर मात्र के हुन्छ र ?’ पनि भन्न भ्याउनुहुन्छ । यी भन्ने कुरा भए । चिन्ता कसले के भने भन्ने होइन, चिन्ता त सहज सामाजिक व्यवस्थापन, मैत्रीपूर्ण सहजीवन, विभेद रहित समाज कसरी बनाउने हो भन्ने हो । हामी  आफूलाई ‘२१ औँ शताब्दी’को सभ्य मानिस भन्न रुचाउँछौँ । सभ्य हुनु भनेको के हो ? सभ्य हुनु भनेको अरुसँग मिल्न सक्नु हो, अरुसँग मिलेर हिँड्न सक्नु हो ।समूह, समुदायलाई अस्पृश्य बनाउनु सभ्यता हुनै सक्दैन । खास अवस्था, कारण र स्थितिमा छुने वानछुने हुन सक्दछ, तर कुनै पेसाजीवी वा पेसाजीवीका सन्तान—दरसन्तानलाई अछुत बनाउने विषय सभ्यताको विषय हुन सक्दैन, यस्तो असभ्यता हो । धर्म, संस्कृति र जातपातको विषय अधययन गर्ने गरेको छु । जानेबुझेको जानकारी गराउँछु । नजानेको जान्न प्रयत्नशील रहन्छु । तर जान्दा वा नजान्दा पनि लकिरको फकिर हुन रुचाउँदिन । मेरो चिन्ता केहो भने यता पूर्वीय वाङ्मयका वेदादि विषयमा साह्रै रसिला रविज्ञानसम्मत पक्ष देख्दछु, यसलाई जोगाउन र सबैलाई यसबाट लाभान्वित गराउन पाए हुन्थ्यो, यसो गर्न सकिएन । सँगै अर्को के हो भने यिनैलाई आधार बनाएर मानिसले मानिसलाई छुनसम्म पनि नहुने बनाइएको छ, वेदादिका अनुयायी भनिएकाहरू भिन्न प्रसंगको जातीय विषयलाई विभेदको पक्षपोषण गरिरहेकाहरूलाई पनि सचेत पार्न सकिएन । हामीसँग, हाम्रै बीचमा रहेको यस्तो विरोधाभाषलाई हामीले छर्लङ्ग्याउन नसक्नुको पीडा र छटपटी पनि उत्तिकै छ ।
मानिसले बुझ्नै नपाएपछि जे बुझे त्यसैका आधारमा त बोल्ने नै भए । वेदादिको अध्ययनबाट मानिसहरूको ठूलो संख्यालाई जान्नबाटवञ्चित गरेर अन्याय त गरेकै हो ।यसमा वेद, वेदद्रष्टा वा रचनाकार त पटक्कै दोषि छैनन् । केही जान्ने बुझ्ने भएपछि विगतमा‘वञ्चितीकरण’मा परेकाहरूले पनि अब त सत्यबोध गर्नेतर्फ लाग्नुपर्ने हो । केही स्वार्थी, केही अबुझ, केही वञ्चितहरूका कारण असाध्यै महत्वपूर्ण विषयमाथि अनर्गल दोषारोपण हुँदा चित्त त दुख्ने नै भयो । यस्तो हुनु पनि त अन्याय हो नि ! बुझ्नबाट वञ्चित राख्ने, वञ्चितीकरणलाई निरन्तरता दिन खोज्ने, वञ्चितीकरणको बहानामा बुझ्न नचाहने र नबुझीकन दोष लगाउने यी सबैले अन्याय गरेकाछन् । तर, जातीय आधारमा गरिने विभेदमूलक अन्याय प्रत्यक्ष र अमानवीय अन्याय हो ।सकारात्मक होस् वा नकारात्मक, विषयका दुवै पक्ष वा बहुआयामिकतामा ध्यान दिन आवश्यक ठान्दछु । मन परेजति सही, मन नपरेजति गलत भन्ने पनि हुँदैन । विषयलाई देश, काल, परिस्थिति सापेक्ष बुझ्नुपर्छ । यसरी बुझ्नुपर्छ, तर किन त ? किनभने संसारको परिवर्तनशीलताको परिक्षेत्र विद्यमान अवस्था बुझ्नुमा मात्र सीमित राख्नु हुँदैन, देश, काल, परिस्थिति सापेक्ष नीति, विधि, प्रक्रियामा सुधार वा परिवर्तन गर्नु आवश्यक हुन्छ । यसका तीन वटा अवस्था देखिन्छ : जोगाउनुपर्ने, हटाउनुपर्ने र नयाँ बनाउनुपर्ने ।
देश, काल, परिस्थितिले सबै जस्ताको तस्तै जोगाउन, पूरै हटाउन र सबै नयाँ बनाउने अनुमति दिँदैन । केही जोगाउने, केही हटाउने र केही नयाँ बनाउने गरी अघि बढ्न उचित हुन्छ । यसो गर्न यस सम्बन्धी पुराना प्रावधानहरू अध्ययन गर्नु पर्ने हुन्छ । पुराना पनि सधै एकनास छैन । तिनीहरुमा पनि निरन्तर परिवर्तन छ । त्यस्ता परिवर्तन कहिले न्यायिक रहे भने कहिले अन्यायी भए । वेदमा पनि सबै उस्तै छैन । सबैभन्दा प्राचीन मानिएको ऋग्वेदमा उच्चता प्राप्तिको विषय छ । हरेकलाई यथास्थितिबाट माथि उठ्ने अधिकार छ । त्यस्तो प्रयत्न गरेको देखिन्छ ।
गरुणपुराणमा जाति उत्कर्षको विषय र प्रावधान छ । अन्य शास्त्रहरूमा पनि वर्णव्यवस्था अन्तर्गत नै जाति पतन र जाति उत्कर्ष (तलबाट माथि हुने) विषय छन् ।मनुस्मृतिमा ‘वेदोद्रखिलो धर्ममूलम्’ अर्थात् सबै धर्मको मूल वेद हो भनिएको छ । वेद बाहिरका विषय धर्मका आधार होइनन् ।मनुस्मृतिमा नै ‘धृतिः क्षमा दमोद्रस्तेयं शौचमिन्द्रियनिग्रहः । धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्’ अर्थात् धैर्य, क्षमा, संयम, नचोर्नु, स्वच्छता, इन्द्रियमा नियन्त्रण, बुद्धिमान् हुनु, विद्या ग्रहण,सत्य र अक्रोध (नरिसाउने) यी दस विशेषता धर्मका लक्षण हुन् । ‘सत्यं ब्रूयात्प्रियं ब्रूयात् मा
ब्रूयात् सत्यमप्रियम् । प्रियं च नानृतं ब्रूयात् एष धर्मः सनातनः’ अर्थात् सत्य बोल्नु, प्रियबोल्नु, सत्य भए पनि अप्रियनबोल्नु, प्रिय भए पनि असत्य नबोल्नु यही नै सनातन धर्म हो । यसरी एउटै मात्र शास्त्रमा धर्मको विषयमा यस्तो प्रावधान रहेको छ । यी र यस्ता प्रावधानहरू पछ्याउने हो भने अन्य कमजोर पक्ष आफै किनारा लाग्ने छन् र धर्मको प्रवन्ध माथि सबैको अधिकार स्थापित हुनसक्दछ । सामान्यतया धर्मको अर्थ धारण गर्नु वा धारणा बनाउनु, कुनै धारणामा सहमत हुनु, धारणालाई अवलम्बन गर्नु भन्ने हुन्छ । अर्को, धर्म भनेको कुनै वस्तुको गुण वा स्वभाव हो ।
अझ अर्को, निर्वाह गर्नैपर्ने दायित्व वा पूरा गर्नैपर्ने कर्तव्य हो । अझै अर्को ईश्वरप्रतिको निष्ठावा भक्ति हो । यी कुनै पनि अर्थमा धर्म विभेदकारी देखिँदैन । जातीय शोषण र थिचोमिचो, अमानवीय विभेद यही धर्म मान्नेहरुलेगरिरहेका होलान्, तर धर्मले जातपात, थिचोमिचो, विभेद गर्न अह्राएको छैन । पहिले यस्तो अपराध गर्नेहरुलाई अपराध अनुसारको प्रायश्चित्त, दण्ड—सजाय र नर्कवासको प्रावधान रहेको पढ्न पाइन्छ । तर, अहिले कुनै व्यक्ति, समाज, समुदायलाई अपराध गर्नबाटरोक्ने,अपराध गर्नेलाई दण्ड—सजाय गर्ने काम राज्यको हो । हाम्रो सिंगो नेपाली समाज नै मूलतः सनातन हिन्दु रहेको र यसैलाई धर्म मानिएको, यहीभित्र नेता, समाजसेवी, चोर, अपराधी, पुरोहित, पुजेरी आदि रहेकोले यहाँको सबै नराम्रा क्रियाकलापला ई ‘हन्दुधर्म’सँग जोड्नु तर्कसंगत र न्यायसंगत हुँदैन । परम्परा र संस्कृति साझा हुन्, धर्म आस्था—निष्ठा, विश्वास, मान्यता र भक्तिको विषय भएकोले समाजका धेरैले माने पनि यो व्यक्तिगत विषय हो । कुनै एउटा हिन्दुले गरेको वा गर्ने व्यवहारका आधारमा सिंगो हिन्दु धर्मलाई लाञ्छित र निन्दा गर्नु अर्को असंगत बिडम्बना हुन्छ । कुनै पनि घटनासँग सिंगो देशभरिको धर्म, जाति वा समुदायलाई जोडेर हेरिनु हुँदैन । यो समय मानिसहरूले परम्परागत पेसा, पुख्र्यौली वासस्थान, वंशगत उत्तराधिकारको सम्पत्तिभन्दा माथि उठेर विकास गरिरहेको समय हो। हरेक देश, क्षेत्र, जाति, समुदायका मानिसहरू नयाँ परिवेशको खोजीमा रुची राखेर अघि बढेको देखिँदैछ । यसलाई नराम्रो भन्न मिल्दैन, हुँदैन । तर, यस्तो स्थितिले मौलिकताका केही जोगाउनु पर्ने विषयहरू विलुप्त हुने, सबै विषयमा परनिर्भर वा परमुखापेक्षी भइने, आफ्ना सम्पूर्ण चिनारी गुम्ने र अरुको दास भइने हुन सक्छ । त्यसैले, हाम्रो जीवन व्यवस्थापन र विकासमा जगेर्ना गनुपरने पक्षहरू पत्तोलगाई संरक्षण गर्ने, सुधार वा परिमार्जन गर्ने र आफ्नै मौलिकतामा टेकेर फड्को मार्ने काम गर्नु बुद्धिमानी हुनेछ । हाम्रो परम्परा, धर्म र संस्कृतिका सबै त्याज्य छैनन् र स्ताको तस्तै अन्धानुकरण गर्नु त हुँदैन नै । वेद एकै जनाले एकै आसनमा बसेर लेखिएको होइन । यसलाई संसारभरिका मानिसहरूको महाधिवेशन गरेर पारित गरिएको पनि होइन। त्यसमा सबैले एउटै विषयमा बोलेका पनि छैनन् । फरक-फरकका फरक-फरक राय छन्, विरोधाभाष छन् । तर आधारभूत रूपमा सृष्टि, प्रकृति, कर्म, विकास, परिवार, अनुशासनका विषय त्यहाँ छन् । मानिस जातिले, मानिस जातिका लागि बहुआयामिक प्रवन्धका रूपरेखा कोरेका छन् । हामीले तिनीहरूबाट सिक्न सकिने र सिक्नपर्ने धेरै विषय छन् । कहीँबाट सिक्नु भनेको अन्धानुकरण गर्नु होइन । प्राचीन कालमा कामका आधारमा वर्ण विभाजन गर्दा पनि उँचो नीचो गरिएको थिएन । आफू प्रतिबद्ध भएको वा तोकिएको काम गर्नुस्वाभाविक हो । यो वर्ण व्यवस्था जन्मको आधारमा निर्धारित गरिएको पनि होइन । सिल्पी, सेवी, पराक्रमी, वणिक र विद्वान यी पाँचवेदमा देखिने कार्य विभाजन हो । यी सबै एउटै परिवारमा पनि हुन्थे । यिनका पुर्खालाई ‘गोत्र प्रवर्तक ऋषि’ मानिन्छ । एउटै कुल-गोत्रमा बहुव्यवसायी त्यतिबेला पनि थिए । उनीहरू जात र थरमा नभएर गोत्रको परिचयमा थिए । हामीकहाँ पनि ‘दलित’ र ‘गैरदलित’ सगोत्रीछौँ । सगोत्री हुनु भनेको एकै कुल-वंशका हुनु हो । एकै कुल-वंशमा कोही छुत र कोही अछुत भन्न मिल्छ ? मिल्दैन । बरु अब हामीलेपनि थरका ठाउँमा गोत्रको प्रचलन चलाउने कि ? दलनलाई अनिवार्य बनाएको, स्थायित्व दिइएको यो शब्द हटाउनुपर्छ । यस शब्दका ठाउँमा कुन-कुन पेसाजीवीलाई यो शब्द प्रयुक्त छ, ती पेसा नै उल्लेख हुनु पर्दछ । थर, जाति उँचनीच हुनुहुँदैन; पेसा, कर्म नकारात्मक विभेदका माध्यम बन्न हुँदैन । तर यो रहिरह्यो र यही नैविभेदको माध्यम र कारण बनिरह्यो । समाजमा पनि अब गोत्र प्रणाली चलाउनु उपयुुक्त हुन्छ, मौद्गल्य, आत्रेय, भरद्वाज, उपमन्यु, काश्यप, धनञ्जय, कौडिन्य, गर्ग, गौतम, अत्रि, घृतकौशिक, माण्डव्य, पाराशर, शाणडिल्य, अगस्ति, अङ्गिरस, वत्स, वसिष्ठ, कपिलआदि छन् । यसबाट सबैको पुख्र्यौली, वंश परम्पराले समानता बोध गराउने छ र प्राचीन मूल मान्यताले पनि समर्थन गर्दछ । सिल्पी, पराक्रमी, सेवी, विद्वान र वणिक पाँचै वर्णका पुर्खा समान मानिएका छन् । जतिबेला औद्योगिक विकास थिएन, त्यति बेलादेखि अहिले ‘दलित’ भनिएका सिल्पी समुदायले गरेका खेतीपाती र घर प्रयोगका औजार, शस्त्रास्त्र, मूर्ति, परिधान, वाद्यवादन आदि अनेकौँ महत्वपूर्ण विषयमा पुर्याएको र पुर्याउँदै आएको योगदानलाई कम आँकिनु हुँदैन । परम्परादेखि त्यस्तो पेसा अपनाउँदै आएकाहरूलाई क्षतिपूर्ति दिने  वैज्ञानिक व्यवस्था गरिनु पर्दछ । ती समुदायलाई शिक्षाबाटवञ्चित पारिएको क्षतिपूर्तिको व्यवस्था पनि हुनु पर्दछ ।
वेद-शास्त्रका प्रमाणकै आधारमा जाति उत्कर्ष गर्नु पर्दछ । केही वर्ष अघिसम्म नेपालमा प्रचलित ‘छत्तीस वर्ण’को विषय पनि हिन्दु धर्म शास्त्रीय विषय होइन नि ! अब विभेद गर्ने होइन,सबै समुदायलाई सम्भयाताले  अँगाल्ने परिपाटी बसाल्नु पर्दछ । भेदभावको अन्त्य  स्वयं आफैबाट सुरु गरौं !

Comments