विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौँमा सम्पन्न

काठमाडौँ- ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ फागुन ३ गतेदेखि काठमाडौँमा सुरु भएको विश्व सामाजिक मञ्चको १६औँ संस्करण सोमबार सम्पन्न भएको छ। फरक विश्वको खोजी गर्ने क्रममा सन् २००१ मा ब्राजिलको पोर्तो अलेग्रेबाट सुरु भएको विश्व सामाजिक मञ्चको १६औँ संस्करणको आयोजक समितिका सदस्य नेत्र तिमिल्सिनाले समापन घोषणा गरे।

मञ्चमा यसपटक छवटा महादेशका ९८ राष्ट्रका एक हजार चार सय बढी सामाजिक संस्था र त्यसमा आबद्ध अभियन्ताहरू काठमाडौँमा भेला भएका थिए। उनीहरूले नवउदारवादी व्यवस्थाले ल्याएका संकट, युद्ध, असमानता, विभेद, गरिबी, आप्रवासन, जलवायु परिवर्तन जस्ता गहन मुद्दामा अवाज उठाएका छन्।

साँस्कृतिक झाँकीसहितको ऐक्यबद्धता र्‍यालीबाट सुरु भएको मञ्चमा करिब ३० हजारभन्दा बढी सहभागी एकैपटक भृकुटीमण्डप प्रवेश गरेपछि उद्घाटन सत्र सुरु भएको थियो। सो सत्रमा ल्याटिन अमेरिकी देश क्युबाका राजनीतिक तथा मानवअधिकार अभियन्ता अलेदा ग्वेभेरा, भारतीय मानवअधिकारकर्मी मेधा पाटकर, राजनीतिकर्मी तथा अभियन्ता थोमस वाल्ग्रेन र किसान अधिकारकर्मी बुरी तुन्कारा गाम्बीले सम्बोधन गरेका थिए।

यसैगरी मानवअधिकारकर्मी ताला नासिर, अर्थशास्त्री तथा अभियन्ता जोमो कवैम सुन्दरम, दलित अधिकारकर्मी अशोक भारती, किसान अधिकारकर्मी वेन तैजुनलगायतले सम्बोधन गरे। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ, एसिया प्यासिफिककी महासचिव शोया यशिदाले श्रमिक मञ्चमा आफ्ना धारणा राखेकी थिइन्।

विश्व सामाजिक मञ्चमा १३ वटा विषयगत क्षेत्रहरूअन्तर्गत आर्थिक असमानता, लैंगिक विभेद, मानवअधिकार, खाद्य सम्प्रभुता, जलवायु न्याय र यसका प्रभावहरू जस्ता विषय समेटर करिब ४०० भन्दा बढी सत्रहरूमा प्रस्तुति, कार्यशाला, छलफल र अन्तरक्रिया भएका छन्।

विभिन्न सामाजिक आन्दोलनहरूले आ–आफ्ना विषयहरू केन्द्रित ६० वटा भन्दा वढी घोषणापत्रहरू जारी गरेका छन्। युद्ध, असमानता तथा समसामयिक विषयमाथि तीन दिनसम्म दैनिक चारवटा सत्रमा मिश्रित सहभागिताको साथ प्रत्यक्ष तथा इन्टरनेटका माध्यमबाट प्रसारण गरिएका सत्रहरूमा झन्डै पचास हजार सहभागीहरूको उपस्थिति रहेको थियो।

 

यसैगरी विश्व सामाजिक मञ्च सम्बद्ध अन्तर–महादेशीय युवा मञ्च र संसदीय मञ्च समेत सम्पन्न भएका छन्। विश्व सामाजिक मञ्च सामाजिक अभियन्ताहरूको थलो हो। समाजमा पिँधमा रहेका महिला, युवा, किसान, दलित, श्रमिक, आदिवासी जनजाती, मधेसी, अपांगता भएका मानिसहरू, लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय आदिको आवाज लिएर विश्व सामाजिक मञ्च अगाडि आएको हो। मञ्च एउटा आर्थिक सामाजिक रूपान्तरणका लागि सुरु भएको आन्दोलन पनि हो।

मञ्चकाअनुसार नवउदारवादी पुँजीवादी व्यवस्थाले विश्वका बहुसंख्यक जनतालाई बहिष्करणमा पारेको छ। सीमित व्यक्तिहरूले आफ्नो हातमा मात्र संसारको स्रोत, साधन र सम्पत्तिमाथि एकाधिकार जमाइरहेका छन्। जनसंख्याको ठूलो हिस्सा गरिबी, वहिष्करण, विभेद तथा विभिन्न खालका समस्याको चपेटामा छ। पृथ्वी जलवायु परिवर्तन र वातावरणीय प्रदूषणका कारण संकटमा छ।

२१ औँ शताब्दी अनुरुपको विश्वमा सबै मानव जातिलाई समान व्यवहार र सम्मानजनक जीवनयापनका लागि यो सामाजिक मञ्च कोशेढुंगा साबित हुने आशा र विश्वास आयोजकले लिएको छ। मञ्चलाई शुभकामना सन्देश पठाएर ऐक्यबद्धता जनाउने संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ। त्यसैगरी मञ्चलाई सफल बनाउन प्रत्यक्ष तथा परोक्ष सहयोग गर्ने नेपालका तीनै तह सरकार र विभिन्न संघसंगठनलाई पनि धन्यवाद दिएको छ।

Comments