विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन काठमाडौंमा सुरु (तस्बीरहरु)

facebook sharing button
twitter sharing button
email sharing button
sharethis sharing button

काठमाडौं । विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आजदेखि नेपालको राजधानी काठमाडौंमा सुरु भएको छ ।

‘अर्काे विश्व सम्भव छ’ भन्ने मुल नाराका साथ आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको विश्व सामाजिक मञ्चको १६ औँ सम्मेलन आगामी फागुन ७ गतेसम्म चल्नेछ ।

विश्वका सीमान्तकृत समुदायको अधिकारका लागि आवाज उठाउने उद्देश्यले चारदिनसम्म सञ्चालन हुने सम्मेलन आजदेखि सुरु भएको हो । नेपालमा पहिलोपटक यस प्रकारको सम्मेलन भएको हो ।

आजदेखि सुरु भएको सम्मेलनमा सम्मेलनस्थल भृकुटीमण्डपबाट रत्नपार्क हुँदै पुनः भृकुटीमण्डपसम्म पदयात्रा (सोलिडारिटी मार्च) गरेर ¥याली कार्यक्रमस्थल भृकुटीमण्डप प्रवेश गरेको थियो । पदयात्रामा न्याय, शान्ति, समानता, विभेदको अन्त्यलगायत सामग्री समेटिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

पदयात्रा (सोलिडारिटी मार्च) लाई देउराली फाउण्डेशन लगायत विभिन्न क्षेत्र र अधिकारसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाले ऐक्यबद्धता जनाएका छन् । सम्मेलनमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मुलविधामा आधारित भएर चार सय कार्यक्रम हुने भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुनेछ ।

 

Comments